वेलगाम चेस



आजभोलि चेसमा एउटा मात्र गोटी चल्छ

त्यो पनि वेलगाम

जता मन लाग्यो त्यतै गयो

खेल खुब मजाको भा

आवश्यक परे उसले तिम्लाई जीउँदै इटाभट्टामा जलाएर मार्छ,

दिनभरि डुलेपछि साझँ एकै ठाउँमा आइपुग्छ

लडखडाउँदै, लटपटिँदै, आफ्नै छोरीको अस्मिता लुट्छ

ताकपरे आमालाई नै बेच्छ

गोटी वेलगाम , नीति छैन, नोटमा बिक्छ

हिजोआज, नरम , चिन्छ सबैलाई

फोन पनि रिसिब गर्छ,

३० पछि,

हेर है उसको फोन रिसिव गर्न स्वकीय सचिव चाहिन्छ,

झोला बोक्न घुँडा धसेर निजामती सेवा पास गरेको सचिव चाहिन्छ

तिमी तिम्रो गाउँलाई कसरी विकास गर्छौं भन्यो भने, भन्छ पछि गर्छु खुत्रुक फोन राख्छ,

कार्यकाल सकिन्छ फोन आउँदैन, कहिल्यै भेट्दैन

फेरी खेल सुरु हुन्छ,

फोन गर्छ, भन्छ तपाईँको सहयोग चाहियो, खेल जित्नु

पाँच वर्ष खेल्नु पर्यो नी ! छोराछोरी, नातिनातिना छन्

 कमाउनु पर्यो नि

घुमाएर, डुलाएर गिज्याएर भेडालाई ढाँट्नु पर्यो नि

वेलगाम, गोटीलाई कहिले लगाम लगाउने हो

दुखेको घाउँलाई कोशी, कर्णाली, महाकाली कि एमसीसीमा बिसाउने हो ?

कि आजीवन भेडा बनेर साहुलाई ऊन मात्र काट्न दिन हो ?

तिमीले रोपेको अनाज फूल्यो, दाना लाग्यो

लागेन तिम्रो, पेटमा घाम

सधै मुसाले सांरागी रेट्दै पेटमा

खाडीमा चुहायौं पसिना

कदर छैन, वेथिति , फेसबुकमा हल्ला गर्दै रमाउँछौं

कहिले सम्म,

बुर्ज खलिफाको टुप्पोमा पुर्याएर, ह्वाइट हाउसको सपना देखाएर

तिम्रो गाउँकै सुपरमार्केटमा साटिँदै छन् सपनाहरू

सबै वेलगाम,

लगाउँदैछन् तिम्रो सपनाको निसाना

तिमीले तिरेको करको महल अर्कौंले ठड्याउँदै

हो,

तिनै वेलगाम गोटी

गाउँ पसेको , तिम्रो मन मस्तिष्कमा वाहवाही फसेको

गाउँघर उजाडिएर, बाँझिएको

 नयाँ सम्राट जन्मियो, नदी नालाबेचिए , खेत बाँझै  

Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

के ख्वाउँछे

मन